फाइल तस्वीर
काठमाडौं – शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । अहिलेसम्म २० स्थानीय निकायको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएका नतिजामा नेपाली काङ््ग्रेसले ७ स्थानमा प्रमुख र ७ स्थानमा उपप्रमुख पदमा जितेको छ भने नेकपा एमालेले ८ स्थानमा प्रमुख र ७ स्थानमा उपप्रमुख पदमा विजय हात पारेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले ३ स्थानमा प्रमुख र ३ स्थानमा उपप्रमुखमा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ प्रमुख र २ उपप्रमुख पदमा जित हातपारेको छ ।

पछिल्लो मतगणना अनुसार नेपाली काङ्ग्रेस सबैभन्दा अग्रस्थानमा छ । उसले २३२ प्रमुख र २०९ उपप्रमुखमा अग्रता लिएको छ भने नेकपा एमालेले १८० प्रमुख र १७० उपप्रमुख पदमा अग्रता लिएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले पनि १ सयभन्दा बढि स्थानमा प्रमुख र उपप्रमुखमा अग्रता लिएको छ । यसरी अग्रता लिनेमा नेकपा एकीकृत समाजवादीले ११ प्रमुख र १५ वटा उपप्रमुखमा अग्रता लिएको छ भने जनता समाजवादी पार्टीले १५ प्रमुख र १५ वटै उपप्रमुखमा अग्रता लिएको छ ।

सर्वाधिक चासो मानिएको काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । अहिलेसम्म ५ हजार ९ सय ८३ मत गन्दा साहको पक्षमा २ हजार दुई सय ३८ मत परेको छ भने एमालेका उम्मेदवार केशव स्थापितले १ हजार २ सय १९ मत प्राप्त गरेका छन् । यसैगरी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसकी सिर्जना सिंह १ हजार ८१ मत सहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलको पक्षमा १ हजार ७४३ मत आएको छ । सुनिताको निकटम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी विनिता मगैयाले ४१३ मत प्राप्त गर्दै तेश्रो स्थानमा छन् ।