फाइल तस्वीर
काठमाडौं– स्थानीय तहको निर्वाचन केहीबेर अघिमात्रै सकिएको छ । बिहान ७ बजेदेखि सुरुभएको निर्वाचन केही छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले बताएको छ । कुल ७ सय ५३ स्थानीय तहको निर्वाचनमध्ये आज ७ सय ५० वटामा निर्वाचन भएको हो । तीन स्थानमा उम्मेदवारहरुको निधन भएका कारण निर्वाचन रोकिन पुगेको छ ।

आज भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता सङ्ख्या रहेका छ । यसमध्ये देशभर गरी ५५ प्रतिशतमात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भीक अनुमान छ । आयोगले यस अघि ७२ प्रतिशतसम्म मत खस्न सक्ने अनुमान गरेको थियो ।


आज भएको स्थानीय तहको निर्वाचनमा २ लाख ६५ हजार सुरक्षाकर्मी परिचालित थिए भने १ लाख ९ हजार ८८ जना कर्मचारीहरु निर्वाचन क्षेत्रमा खटिएको आयोगले जनाएको छ । ७ सय ५० मतदान केन्द्रमा २१ हजार ९ सय ५५ वटा मतदान स्थलको व्यवस्था मिलाइएको थियो ।


आज सम्पन्न भएको मतदानमा केही अप्रिय घटना घटेका स्थानमा मतदान गर्ने कार्यक्रम स्थगित भएको आयोगले जनाएको छ । यसैक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने स्थानीय तह निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूबाटै मतदानलाई प्रभावित पार्न खोजिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

शुक्रबार मतदान जारी भइरहेका बेला थपलियाले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै दल र उम्मेदवारले मतदानलाई प्रभावित पार्न खोज्नु दुःखद् भएको बताउनु भएको छ ।


प्रमुख आयुक्त थपलियाले भन्नुभयो ‘यति तयारी गरेर भइरहेको मतदान रोकौँ भनेर सांसद र स्थानीय नेतृत्वबाटै प्रस्ताव आएका छन्। कतिपय ठाउँमा त उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामा आक्रमण गर्ने काम भएको छ, यो त लज्जास्पद कुरा भयो ।’

बाजुरा, बझाङ, तनहुँ, धनकुटा, सप्तरी, बारा र रौतहटलगायतका केही मतदान केन्द्रहरूमा अप्रत्याशित र अवाञ्छित गतिविधिहरू भएको आयोगले बताएको छ । ‘उम्मेदवारका प्रतिनिधिबाटै त्यस्ता गतिविधि भएका छन्, दलका नेता र उम्मेदवारहरूबाटै त्यस्तो घटना घटाइनु दुःखद् कुरा भएको प्रमुख निर्वाचन आयृक्त थपलियाले बताउनु भयो । आयोगका अनुसार देशभर ३२ वटा केन्द्रमा दुईपक्षीय झडप र विवादका कारण मतदान कार्य स्थगित भएका छन् ।