काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त आायोजनामा २६ वैशाखमा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउने खालको भाषण दिएको, तडकभडक भोजभतेर गरेको, मतदातालाई रकम बाँडेको, गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझाको चरित्र हत्या गर्ने खालका सम्पादित भिडियोहरू सार्वजनिक स्थलमा राखेको गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दिएको व्यहोरासहित उजुरी प्राप्त भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिताका अधिकांश दफा आकर्षित हुने भन्दै आयोगले कारबाही गर्नु नपर्ने केही कारण भए लिखित स्पष्टीकरण पठाउन निर्देशन दिएको हो ।