काठमाडौं – नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई आफ्नो घर सुर्खेत जाँदै गर्दा आज बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । उनी घर हुँदै शुक्रबार कोहलपुरमा तय भएको पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो ।
स्थानीय निर्वाचनको सङ्घारमा चुनाव बहिष्कार गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ ।

चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए । गत वैशाख २१ गते विप्लवलाई महासचिवबाट हटाएर नेकपा बहुमतका संयोजक भएका हुन् । उनले हिजो पोखरामा निर्वाचन बहिस्कार गर्न आह्वान गर्दै सभा गरेका थिए । विप्लव नेतृत्वले स्थानीय तहको निर्वाचनमा सहभागी भएको छ भने वास्तोलाको नेतृत्वको नेकपा बहुमतले भने निर्वाचन बहिष्कार गरेको छ ।