काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ’असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुन सक्छ । शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।
शुक्रबार प्रदेश १, मधेस, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।
राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । चुनावका दिन पानी पर्ने सम्भावना भएपछि निर्वाचन आयोगले त्रिपाललगायतका सुरक्षात्मक प्रबन्धका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।