साङ्केतिक तस्वीर
काठमाडौं –स्थानीय तह निर्वाचनमा उम्मेदावहरुले गर्ने प्रचार–प्रसार अभियान समाप्त भै मौन अवधि सुरु भएको छ । बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको सम्पूर्ण कार्य मङ्गलबार मध्यरातदेखि सकिएकोले मौन अवधिमा सुरु भएको हो ।

यो अवधिमा निर्वाचनमा सहभागी कुनैपनि राजनीतिक दल, स्वतन्त्र उम्मेदवार र तिनका समर्थनले प्रचार–प्रसार गर्न पाउनेछैनन् । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न र मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि राखिएको हो ।

निर्वाचन आयोगद्वारा जारी निर्वाचन अचारसंहिता, २०७८ अनुसार मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाइने छैन । यो अवधिमा आयोगले निर्वाचनका उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्ति माथि निगरानी राख्नेछ ।

आयोगले मौन अवधिमा आचारसंहिता विपरितका कार्य हुन नदिने, मतदानको दिन मतदातालाई सुरक्षितरूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न सबै सरोकार पक्षहरुसँग अनुरोध गरेको छ । आयोगले यस अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सबै स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने कुराहरु आचारसंहिता भित्र पर्दछन्।

स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पूरा भइसकेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न मतदाताहरुलाई अपिल गर्दै त्यसका लागि साथ दिन सञ्चारमाध्यम, नागरिक समाज र सबैमा आग्रह गर्नुभएको छ ।

वैशाख ३० गते देशभरका ७ सय ५३ वटा स्थानीय तहमा निर्वाचन हुने र स्थानीय तहले नयाँ जनप्रतिनिधिहरु पाउने छन् । महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिकामा आगामी ५ वर्षको लागि जनप्रतिनिधिहरु मतदातबाट चुनिने छन् ।