डोटी – नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै मन्त्री आलेले देश विकास गर्नकै लागि पाँच दलीय गठबन्धन भएको उल्लेख गर्नुभयो ।

स्थानीय तहको निर्वाचनपछि गठबन्धनको सरकारले अधुरा रहेका विकासका कामलाई पूर्णता दिने उहाँको भनाइ थियो । मन्त्री आलेले भन्नुभयो, ‘देश विकास गर्न तथा नागरिकलाई सुख सुविधा दिन पाँच दलीय गठबन्धन गरेका हौं । स्थानीय तह निर्वाचन पछि अधुरा काम सम्पन्न गर्न सहज हुनेछ ।’ उहाँले गठबन्धनका उम्मेदवारलाई जिताउन समेत सबैमा आग्रह गर्नुभएको छ ।