फाइल तस्वीर


काठमाडौं – बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज पार्टीका शीर्ष नेताहरु आ–आफ्नै गृह जिल्लामा केन्द्रीत हुँदैछन् । आ–आफ्ना उम्मेदवारलाई जिताउन दलका शीर्ष नेताहरु चुनाव प्रचार प्रसारको अन्तिम समयलाई सदुपयोग गर्दै गृह जिल्लामा केन्द्रीत हुन लागेका हुन् ।

आज अन्तिम दिन भएकाले उम्मेदवार तथा राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार–प्रसारलाई बिहानैदेखि तिव्रता दिंएका छन् । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले समेत देशभर विभिन्न स्थानमा चुनावी सभा गरेर मत माग्दैछन् । प्रचार–प्रसार आजबाट बन्द हुने र मौनअवधि सुरु हुनेछ । यसैक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु चुनावी अभियानको दौडधुपमा छन् । प्रमुख दलका शीर्ष नेताहरु आ–आफ्ना पार्टी र गठबन्धनका उम्मेदवारलाई मत माग्न आज मङ्गलबार दिनभर धेरै स्थानमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम बनाएका छन् । शीर्ष नेताहरु आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रलाई प्राथमिकता दिदै त्यसबाहेक अन्य जिल्लामा हुने चुनावी सभा र कार्यकर्ता भेटघाटमा जुट्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुरा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मधेस प्रदेश, एमाले अध्यक्ष झापा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट जिल्लामा पुगेका चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पनि झापाको चुनावी अभियानमा व्यस्त हुनुहुने भएको छ ।

प्रधानमन्त्री देउवा भने गृह जिल्ला डडेलधुरामा चुनावी सभामा सक्रिय हुनुहुनेछ । देउवा बैशाख ३० गतेसम्म गृह जिल्लामै बस्नुहुने र मतदान गरेपछि मात्रै राजधानी फर्किनु हुने उहाँको सचिवालयले जनाएको छ ।

एमालेका अध्यक्ष केपी शर्माओली झापाको चुनावी कार्यक्रम सकेर आजै काठमाडौको भृकुटीमण्डपमा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजै मधेस प्रदेशको रौतहटको पिपरा विश्रामपुर, सर्लाहीको चक्रघट्टी, महोत्तरीको बर्दिवास, धनुषाको शहिदनगर र बाराको सिमरामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

सिमराको सभालाई सम्बोधन गरेर प्रचण्ड आजै राजधानी फर्किनु हुने र उहाँ बुधबार चितवन जानुहुने र निर्वाचनको दिन मतदान सकेतर काठमाडौ फर्कने कार्यक्रम रहेको सचिवालयले बताएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट सर्लाही, ललितपुर र काठमाडौमा हुने सभालाई सम्बोधन गर्दैछन् । नेता नेपालको सचिवालयका अनुसार मंगलबार बिहान रौतहटका विभिन्न स्थानमा भएका चुनावी सभा र भेटघाटपछि नेता नेपाल सर्लाहीका केही स्थानमा हुने सभालाई सम्बोधन गरेर राजधानी फर्कनेछन् । राजधानी फर्केपछि नेपालले काठमाडौ महानगरपालिकाको वडा नम्बर ९ र ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

जनता समाजवादीका शीर्ष नेताहरु पनि चुनावी अभियानमा केन्द्रीत हुनेछन् । पार्टी अध्यक्ष उपेन्द्र यादव मधेस प्रदेशका चुनावी सभामा केन्द्रीत हुनुभएको छ भने, अर्का नेता डा.बाबुराम भट्टराई गोरखामा केन्द्रीत हुनुभएको छ ।