फाइल तस्वीर
काठमाडौं– बैशाख ३० गते शुक्रबार हुने स्थानीय निर्वाचनको प्रचार प्रसारका क्रममा ठूला राजनीतिक दलका शीर्ष नेताहरुको देश दौडाहा कार्यक्रमले निरन्तरता पाएको छ । यसै क्रममा पाँच दलीय सत्तागठबन्धनले आज आइतबार कास्कीको पोखरा र दाङको तुलसीपुरमा आमसभा गर्दैछ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आजै चितवन र बुटवलमा चुनावी सभा गर्दैछ ।

पाँच दलीय गठबन्धनले पोखरामा गर्ने चुनावी सभालाई प्रधानमन्त्री समेत रहनु भएका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नुहुने बताइएको छ ।

निर्धारित कार्यतालिका अनुसार आज आइतबार पोखरामा बिहान ११ बजे र दाङ्गको तुलसीपुरमा दिउँसो २ बजे हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवारलाई जिताउन शीर्ष नेताहरुले एकै मञ्चबाट सम्बोधन गर्दै आउनु भएको छ ।

यसैगरी प्रमुख प्रतिपक्ष दल एमालेले पनि आजै चितवन र बुटवलमा चुनावी सभाको आयोजना गरेको छ । यी दुवै चुनावी सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ । चुनावी प्रचार अभियानलाई एमालेका नेताहरुले सम्बोधन गर्ने भएका छन् । बुटवलमा हुने चुनावी सभालाई भने अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताले सम्बोधन गर्नेछन् ।


प्रतिष्ठाको केन्द्र मानिएको चितवनमा २२ गते सत्ता गठबन्धन दलले चुनावी सभाको आयोजना गरिसकेको छ । भरतपुर महानगरपालिकाको चुनाव पेचिलो बनिरहेको अवस्थामा एमालेले आज चुनावीसभा गर्न लागेको हो । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट निर्वतमान मेयर नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई उठाइएको छ भने एमालेको तर्फबाट पूर्वमन्त्री विजय सुवेदी प्रत्यासी बन्नुभएको छ । त्यसैगरी नेपाली काङ्ग्रेसका नेता पूर्व उपमेयर एवम् वरिष्ठ कानुन व्यवसायी जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।


भरतपुरको मेयर पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसको मत विभाजन हुने देखिएको छ । सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहालको विपक्षमा चितवनका पूराना काङ्ग्रेसी नेताहरुको रहेकाले त्रिपक्षीय भिडन्त हुने भएको हो । काङ्ग्रेसको मत विभाजनका कारण निवर्तमान मेयर रेणु दाहाललाई जित्न कठिन हुने एमालेको विश्लेषण छ ।