चितवन – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहौल बनेको बताउनुभएको छ । सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुग्नुभएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राम्रोसँग व्यवस्थापन गरेका छौं ।’ अहिले देशभर गठबन्धन भइदिए हुन्थ्यो भन्ने प्रतिक्रिया जनताबाट आएको उहाँले बताउनुभयो । नेपालले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह पनि गर्नुभयो । गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको उहाँले बताउनुभयो ।

नेपालले भरतपुरमा सत्ता गठबन्धनको विरुद्ध उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई मुलुकको राजनीतिक भविष्यका लागि उम्मेदवारी फिर्ता गर्न आग्रह गर्नुभयो । दलहरुबीच सहकार्य भएमात्रै मुलुकको राजनीतिक सङ्कट टर्ने उहाँको भनाई छ । मुलुकको राजनीतिक सङ्कट टार्नका लागि गरिएको गठबन्धनको जीत आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

‘राजनीतिक मान्छेले राजनीतिक रूपमा सोच्छ । आफूलाई केन्द्र विन्दुमा राख्दैन पुरै सिङ्गो पार्टीलाई ध्यानमा राख्छ,’ उहाँले भन्नुभयो, ‘आजसम्म नेपालको राजनीतिक परिवर्तनका लागि दुवै पार्टीले सहकार्य गर्दै आएका छन् । अनि मात्रै सफलता मिलेको छ । यसलाई ध्यानमा राखेर उहाँले उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको पक्षमा समर्थन गरेर अभियानमा जुट्नुभयो भने उहाँको इज्जत, प्रतिष्ठा, मर्यादा र राजनैतिक भविष्य राम्रो हुन्छ ।’