फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आसन्न स्थानीय तह निर्वाचनको प्रचार अभियानमा जुट्नु भएको छ । प्रधानमन्त्री देउवा चुनावी अभियानकै दौरानमा आज विराटनगरको चुनावी सभालाई सम्बोधन सकेर आजै चितवन जाने हुनुभएको छ । प्रधानमन्त्री देउवाले भोलि चितवनमा हुने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ ।

चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर लगायत अन्य वडाहरुमा सत्ता गठबन्धनको तालमेल रहेको छ । भरतपुर महानगरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी एवम् निवर्तमान मेयर रेणु दाहाललाई सत्ता गठबन्धन दलले साझा उम्मेदवार उठाएको छ । उक्त महानगरपालिकामा नेकपा एमालेबाट बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी र स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका नेताका रुपमा परिचित वरिष्ठ कानुन व्यवसायी जगन्नाथ पौडेल मुख्य प्रतिस्पर्धि रहेका छन् । काङ्ग्रेस सभापति देउवाले चितवन बसाइका क्रममा मेयरका स्वतन्त्र प्रत्यासी बनेका पौडेल र असन्तुष्ट नेता कार्यकर्तालाई समेत भेटघाट गरेर रेणु दाहालको पक्षमा चुनावी वातावरण बनाउन पहल गर्नुहुने बताइएको छ ।


नेपाली काङ्ग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालका अनुसार प्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवा आज दिउँसो ४ बजे चितवन पुग्ने कार्यक्रम रहेको छ । चुनावी सभालाई सम्बोधन गर्ने र असन्तुष्ट नेता तथा कार्यकर्तालाई भेट्ने तयारीस्वरुप प्रधानमन्त्री देउवा चितवन जान लाग्नु भएको हो ।