फाइल तस्वीर
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान तर्फ बम राखिएको हल्लापछि हवाइ सेवा अवरुद्ध हुन पुगेको छ । विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ भने उडान गर्न तयार भै विमानमा चढिसकेका यात्रुहरुलाई समेत सुरक्षाको कारणले विमानबाट बाहिर निकालि विमानस्थल र आन्तरिक टर्मिनल भवन खाली गराइएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि त्यहाँको वातावरण कोलाहल र तनावग्रस्थ बनेको थियो । विमानस्थलको ल्याण्डलाइन नम्बरमा अज्ञान व्यक्तिले फोन गरेर आन्तरिक टर्मिनलमा बम रहेको भनेपछि यात्रुहरु तर्सिदै बाहिरिएका थिए । अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने सुरक्षार्थ प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालका अनुसार बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको थियो । एसएसपी ढकालले बताए अनुसार फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको र अहिले अनुसन्धान गर्ने काम भैरहेको छ । टर्मिनल भवनमा बम भएको भन्दै फोन आएपछि त्यहाँको सत्यतथ्य पत्ता लगाउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।