काठमाडौं – निर्वाचन आयोगले उम्मेदवारहरूलाई बैंकमार्फत् मात्रै खर्च गर्न निर्देशन दिएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय चुनावका उम्मेदवारहरूलाई आयोगले सो निर्देशन दिएको हो । घरदैलो तथा प्रचारप्रसारमा लागिपरेका उम्मेदवारहरूले खर्च सीमा मिचेको जानकारीमा आएसँगै आयोगले खर्च सीमाको हदम्यादबारे ध्यानाकर्षण गराउँदै यस्तो निर्देशन दिएको हो ।

हिजो मङ्गलबार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिताको परिधीभित्र रहेर बैंकमार्फत मात्र खर्च गर्न अनुरोध गरेको हो । यसबारे नियमन गर्न आयोगले सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न बैङ्क अथवा वित्तीय संस्थामा खाता खोल्नुपर्ने व्यवस्था छ । निर्वाचन आचारसंहितामा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनकले पालना गर्नुपर्ने आचारणअन्तर्गत परिच्छेद–४ को १५ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था छ ।

२५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नु पर्ने प्रावधान आचारसंहितामा उल्लेख छ । साथै, खर्चको विवरण तथा बिल भर्पाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण आयोगमा बुझाउनुपर्ने लगायतका व्यवस्था पनि छ । आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।