काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागका केही र तराईका एक–दुई ्स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भू–भागमा अहिले बिहानको मौसम बदली रहेको छ । गएराति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो ।

स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि बिहीबार पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।