एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा , फाइल तस्वीर
काठमाडौं – सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको प्रति असन्तुष्टी जनाउँदै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।

आफुभन्दा कनिष्ठ एआईजीलाई सरकारले आईजीपीमा नियुक्त गरेपछि असन्तुष्ट बनेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा न्याय खोज्दै सर्वोच्च अदालत पुगेका हुन् । एआईजीद्वयले आज सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । सिंहलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् । रिट निवेदन दर्ताको प्रक्रियामा रहेको बताइएको छ ।


गृह मन्त्रालयको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा रहेका एआईजी विश्वराज पोखरेललाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्न सिफारिस गरेको थियो । तर, सरकारले तेस्रो नम्बरमा रहेका सिंहलाई आईजीपीमा बढुवा गरेको थियो । रोलक्रम अनुसार विश्वराज पोखरेल र सहकुलबहादुर थापा क्रमश पहिलो र देस्रो नम्बरका एआईजी हुन् भने नवनियुक्त आईजीपी सिंह तेस्रो नम्बरका हुन् ।

यस विषयमा गृह मन्त्रालयले भने नियुक्तिमा ज्येष्ठतालाई मात्र आधार नमानिने स्पष्टीकरण दिइसकेको छ । आईजीपी नियुक्तिमा उमेर मात्र आधार नहुने गृह सचिव टेकनारायण पाण्डेले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको जोडमा सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको हो ।