सशस्त्र प्रहरी बलका नवनियुक्त प्रहरी महानिरीक्षक राजु अर्याल, फाइल तस्वीर ।
काठमाडौं – सरकारले बढुवा गरेका सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिन्ह लगाएका छन् । आज सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त द्वयप्रहरी महानिरीक्षकहरुलाई दज्र्यानी चिन्ह लगाएर हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा राजु अर्याल र नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताव सिंह, फाइल तस्वीर ।


सशस्त्र प्रहरी बलका नवनियुक्त प्रहरी महानिरीक्षक बन्न सफल राजु अर्याल २०५४ साल चैतमा नेपाल प्रहरीको निरीक्षक पदमा प्रवेश गरी पछि सशस्त्र प्रहरी बलमा गएका हुन् भने नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बन्न सफल धिरजप्रताप सिंह २०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

सशस्त्र प्रहरी बलका नवनियुक्त प्रहरी महानिरीक्षक अर्यालको नियुक्तिमा कुनै विवाद नरहे पनि नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक सिंह विवादमा तानिएका छन् । सरकारले आफुभन्दा कनिष्ठ अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले आफुहरुलाई अन्याय परेको भन्दै अदालतको ढोका ढकढक्याउने बताएका छन् ।