काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिन आग्रह गरेको छ । निर्वाचनसँग सम्बिन्धत कुनै पनि समाचार वा सामग्री शीर्षककै आधारमा अर्थात् मन परेकै आधारमा लाइक, कमेन्ट र सेयर नगर्न समेत आयोगले अनुरोध गरेको छ ।

आयोगले सूचनाको विश्वसनीयता जाँच गर्नुपर्नेमा जोड दिइएको छ । निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटो साइट र एकाउन्ट सञ्चालन नगर्न, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति दिनेलगायत कार्य नगर्न पनि आयोगको आग्रह छ ।

हेर्नुहोस् निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु:
१. शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौँ,
२. सूचनाको विश्वसनीयता जाँच गरौँ,
३. निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन नगरौँ,
४. निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिनेजस्ता कार्य नगरौँ,
५. कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा सेयर वा लाइक वा कमेन्ट नगरौँ,
६. कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौँ ।