फाइल तस्वीर
काठमाडौं – पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपालियाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाको ‘मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिँदैन’ भन्ने अभिव्यक्ति प्रति लक्षित गर्दै नेता पुनले यस्तो आपत्ति प्रकट गरेका हुन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस १३३ औं को अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित एक कार्यक्रममा बोल्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रमुख निर्वाचन आयुक्तको ‘मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिँदैन’ भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो ? भन्दै उनले प्रश्न गरे । कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगका पदाधिकारीले बोल्न नमिल्ने भन्दै नेता पुनले आपत्ति प्रकट गरे ।

नेता पुनले आयोगलाई निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न पनि आग्रह गरे । उनले आयोग ‘रेफ्री’को भूमिकामा बस्नुपर्ने पनि बताए । देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरूले निष्पक्ष भूमिका खेल्न नसकेको उनको टिप्पणी छ ।
उनले एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोप समेत लगाए । एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिँड्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

उनले माओवादी केन्द्रको प्रहार ओली प्रवृत्तिमाथि भएको भन्दै एमालेभित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तमाथि नभएको स्पष्ट पारे । भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरूको वैचारिक रूपमा ध्रुवीकरण हुने पनि उनले बताए ।