नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, फाइल तस्वीर
काठमाडौं – सरकारले दुई प्रहरी सङ्गठनको मुख्य पद प्रहरी महानिरीक्षकमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरीको प्रहरी महानिरीक्षकमा राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले आजदेखि अनिवार्य अवकाश पाउने भएपछि सेवा निवृत्त हुँदैछन् । उनीहरुले अवकाश पाउनु भएपछि मन्त्रिपरिषद्को बैठकले धीरजप्रताप सिंह र राजु अर्याललाई महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक राजु अर्याल

नेपाल प्रहरीका नव नियुक्त प्रहरी महानिरीक्षक सिंहले सहकर्मीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुकलाई पछिपार्दै नेपाल प्रहरीको नेतृत्व सम्हाल्न आइपुगेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुखको जिम्मेवारी समेत सम्हाली सकेको सिंहले यसअघि डिआइजी बन्ने क्रममा सहकर्मीहरुलाई उछिनेका पोखरेलसँग आइजीको दौडमा भने सिंहले बाजी मारेका हुन् । पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्व सरकारले एकल निर्णय गरेर एआइजी बनाएको थियो ।

दैलेख जिल्लाको विजौरामा जन्मिएका ५४ वर्षीय सिंहले कानुनमा स्नातक र मानविकीमा स्नातकोत्तर सकेका छन् । प्रहरी नियमावली–२०७१ को नियम ४१ अनुसार एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्नसक्ने भनिएको छ । यसमा रोलक्रमभन्दा पनि प्रधानमन्त्री र गृहमन्त्रीको तजबिजी अधिकारले बढी अर्थ राख्छ ।

यसैगरी सरकारले सशस्त्र प्रहरीका एआईजी राजु अर्याललाई आईजीपीमा बढुवा गरेको छ । उनी आईजीपीका एकल दाबेदार थिए । केही समय अघिमात्रै सरकारले अर्याललाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो । सशस्त्र प्रहरीका आईजीपी पुष्पराम केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका हुन् । केसी गत ३० चैतमा सशस्त्र महानिरीक्षकमा नियुक्त भएका थिए। उनी १९ दिनका लागि सशस्त्र प्रहरी बलको महानिरीक्षक बनेका थिए ।