काठमाडौं – बागी उम्मेदवारी फिर्ता लिने समय घर्किंदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक सुरु हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।

बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने उहाँको भनाइ छ । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ । वैशाख ११ र १२ मा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।

उम्मेदवारी फिर्ता लिने समय भने आज शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि पनि हिजो बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो । तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन बाँकी छ । आधिकारिक उम्मेदवारलाई निर्वाचत जित्न कठिन हुनेगरी बागी उम्मेदवारी परेको हो ।