काठमाडौं – झण्डै एक दशकभन्दा बढी समयदेखि लोकप्रिय ‘सोसल वर्क्स’ कार्यक्रम सञ्चालन गर्दै आएको सेन्ट जेभियर्स कलेज काठमाडौं विश्वविद्यालयको सम्बद्धताबाट बाहिरिने भएको छ ।

विश्वविद्यालयले एकपक्षीय रूपमा सम्बद्धतासम्बन्धी नियम परिवर्तन गरेपछि सेन्ट जेभियर्स कलेजले त्यसलाई निरन्तरता नदिने निर्णय गरेको कलेज स्रोतले बताएको छ । स्रोतले बताए अनुसार, ‘तर त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ‘सोसल वर्क्स’ कार्यक्रम यथावत् सञ्चालन भइरहनेछ ।’ केयू अन्तर्गतको कार्यक्रमका लागि यसै शैक्षिक वर्षदेखि लागू हुने गरी भर्ना नलिने निर्णय पनि कलेजले गरेको छ ।

प्राप्त जानकारीअनुसार काठमाडौं विश्वविद्यालयले अब उप्रान्त ऊसँगको आबद्धता (एफिलिएसन)का लागि कलेजले असुल गर्ने ‘फी’ को २० प्रतिशत उसलाई बुझाउनुपर्ने, प्रिन्सिपल तथा फ्याकल्टी नियुक्तिमा विश्वविद्यालयको निर्णायक भूमिका हुनुपर्ने र कार्यक्रम चलाउन सम्बन्धित कलेजले छुट्टै संस्था दर्ता गराउनुपर्ने सर्त राखेपछि सेन्ट जेभियर्स कलेज पन्छिएको हो ।

सोसल वर्क्सभन्दा अलग्गै भवनमा फीको २० प्रतिशत रकम बुझाएर सोसल वर्क्स कार्यक्रम चलाउन राजी भए पनि अलग्गै संस्था नै दर्ता गर्न सेन्ट जेभियर्स कलेजले अस्वीकार गरेपछि सम्वद्धताको अन्त्य भएको श्रोतले बताएको छ ।