फाइल तस्वीर
काठमाडौँ– वैशाख ३० गते हुने ७५३ वटा स्थानीयत तहको निर्वाचनका लागि १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त कुराको जानकारी निर्वाचन आयोगले गराएको हो ।

निर्वाचन आयोगले आज अपराह्न सार्वजनिक गरेको विवरणअनुसार मेयर पदका लागि ३ हजार ४ सय ३० जना, उपमेयर पदका लागि २ हजार ९७ जना, तथा अध्यक्षका लागि ३ हजार ३६३ जना र उपाध्यक्षमा २ हजार ३८२ जनाले उम्मेदवारी दर्ता भएको छ ।

यस्तैगरी वडाध्यक्षमा ३४ हजार ३५७ जना, महिला सदस्यमा २५ हजार ३४५ जना, दलित महिला सदस्यमा २२ हजार ८९९ जना र सदस्यमा ५३ हजार ४०१ जना गरी कुल १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । उम्मेदवारी मनोनयन दर्ताको सङ्ख्याको पूण विवरण अझै आउने र त्यसलाई अपडेट गर्ने कार्यसमेत भैरहेको आयोगले बताएको छ ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेश १ मा २२ हजार ५४२ जना, मधेस प्रदेशमा ३८ हजार ७८७ जना, बागमती प्रदेशमा २४ हजार ३३ जना, गण्डकी प्रदेशमा १२ हजार ७८७ जना, लुम्बिनी प्रदेशमा २३ हजार ४९ जना, कर्णाली प्रदेशमा १३ हजार ४०३ जना र सुदूरपश्चिम प्रदेशमामा १२ हजार ६७३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।