काठमाडौं – सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनमा आबद्ध रहेका दलहरुबीच नै गठबन्धन र तालमेल गर्ने नीतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न पार्टीका सबै समितिलाई निर्देशन दिएको बताउनुभएको छ । माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटका क्रममा प्रवक्ता महराले केही स्थानमा गठबन्धनको नीति विपरीत गठबन्धन भएको भए त्यसलाई उम्मेदवारी फिर्ता हुने दिनसम्म फिर्ता गराउने नीति रहेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा उद्देश्यका लागि गठन भएको गठबन्धनको मर्म र भावना विपरीत जाने छुट कोही कसैलाई छैन, यसमा आबद्ध सबै दलको एउटै धारणा छ, त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्छौं ।’ प्रवक्ता महराले देशभर ६० प्रतिशत स्थानमा गठबन्धन भएको र बाँकी ४० प्रतिशत स्थानमा पनि मिलाइने विश्वास रहेको बताउनुभएको छ । उहाँले गठबन्धन अझ अगाडि बढ्दै जाने र नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले अर्कोलाई सहयोग गरेर जाने गरी सहमति हुने उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रका प्रवक्ता महराले ‘आज बिहानसम्मको गठबन्धनको प्रक्रियामा हामीले मोरदेन ६० प्रतिशत जति गठबन्धन सफल भएको र बाँकी केही काममा अलिकति मिलेको छैन् । पार्टी भित्रपनि मिलेको छैन, पार्टी–पार्टीको बिचमा पनि मिलेको छैन । केही प्रक्रिया अझ पनि जारी छ । यो मिल्नेक्रम बेलुकीसम्म अगाडि बढ्छ । आज मात्र होइन, १६ गतेसम्म मनोनयन फिर्ताको कार्यक्रम छ । मिल्ने क्रम जारी रहन्छ । जुन उद्देश्यमा आधारित भएर गठबन्धन बनेको थियो, प्रतिगमनको विरुद्धमा अग्रगमनको पक्षमा, संविधानलाई जोगाउनको निमित्त यो गठबन्धन सुरु भएको छ । यो सफल भएको छ । मैले यहाँहरूलाई सफलताको सन्देश दिन चाहन्छु । अब अझ अगाडि बढ्दै जान्छ ।’

प्रवक्ता महराले पार्टीले केन्द्रीय तहबाट घोषणापत्र सार्वजनिक नगर्ने बताउनुभएको छ । उहाँले स्थानीय विशेषतामा आधारित रहेर स्थानीय तह आफैँले घोषणापत्र सार्वजनिक गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अपिल जारी गरेका छौं र के भनेका छौं भने केन्द्रीय स्तरबाट भन्दा स्थानीय स्तरबाटै घोषणापत्र आफ्नो विशेषतामा निकाल्ने भनेका छौं । विशेषतामा आधारित भएर आ–आफ्नो स्थानीय निकायले घोषणापत्र निकाल्ने छन् । हामीले स्थानीय निकायलाई अलि शक्तिशाली बनाउने भनेकै हो । त्यो प्रक्रिया सुरु भएको छ । हामी सकेसम्म केन्द्रीकृत शक्तिलाई विकेन्द्रीकृत गर्ने त्यसकारण हामीले त्यो अधिकार तल दिन चाहन्छौं ।’

पार्टी प्रवक्ता महराले नेकपा(माओवादी केन्द्र)मा पार्टी प्रवेशको लहर चलेको बताउनुभएको छ । उहाँले गठबन्धन दलहरुबीचमा सहमति नभए पनि गठबन्धनका दलहरूले एमालेसँग निर्वाचनमा सहकार्य नगर्ने निर्णय अनुसार अघि बढ्ने बताउनुभयो ।