फाइल तस्वीर
काठमाडौं – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने दोस्रो तथा अन्तिम दिनसम्म पनि गठबन्धन दलहरुबीच माथापच्चिसी चलिरहेको छ । हिजो आइतबार उम्मेदवारी दिने पहिलो दिन अपेक्षाकृत रुपमा मनोनयन दर्ता हुन सकेन । आज सोमबार स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन हो । निर्वाचन आयोगले मनोनयनको लागि आइतबार र सोमबार गरी दुई दिन समय दिएको थियो ।

मनोनयनको पहिलो दिन विभिन्न पालिकाबाट पदका लागि १० हजार ५ सय ३३ जनाको उम्मेदवारी दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार पहिलो दिन धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य ठूला राजनीतिक दलहरुमा कुरा मिल्न नसक्दा हिजो उम्मेदवारी दर्ता हुन सकेन । ठूला दलहरुका उम्मेदवारले आज मनोनयनको तयारी गरेका छन् । आयोगले मनोनयनको समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको लागि तोकेको छ । मनोनयनको दोस्रो दिन बिहानसम्म ठूला दलहरुले उम्मेदवार टुङ्गो लगाइसकेका छैनन् । दलहरुले उम्मेदवारको टुङ्गो लगाउने अन्तिम अझै सहमतिका लागि कसरत गरिरहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १२ वैशाख, सोमबार मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने बताइएको छ ।

यसैगरी वैशाख १५ गते आयोगले मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम आयोगको रहेको छ ।

गठबन्धन दलहरुबीच साझा उम्मेदवार बनाउने विषयमा रस्साकस्सी भैरहेको छ भने जिल्ला तथा स्थानीय पार्टी कमिटीहरुले केन्द्रको गठबन्धन नीतिलाई लत्याएका छन् । विशेषगरी नेपाली काङ्ग्रेसले गठबन्धनको तिब्रविरोध गर्दै आएको छ र काङ्ग्रेसका जिल्ला तथा तल्ला कमिटीका कार्यकर्ताहरुले स्वतन्त्र रुपमा बागी उम्मेदवार दिने भएका छन् । महानगर र उपमहानगरपालिकामा केन्द्रले गरेको भागबण्डाप्रति असन्तोष व्यक्त गर्दै गठबन्धनका विपक्षमा मतदान गर्ने देखिएको छ ।