काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरुले संयुक्त रुपमा ‘नेपाली काङ्ग्रेसको सङ्कल्प’ (घोषणापत्र) सार्वजनिक गर्नुभएको हो ।

काङ्ग्रेसले उक्त घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सेवा प्रवाह, स्थानीय पूर्वाधार तथा कृषि, उद्यम र रोजगारीलाई प्राथमिकता दिने जनाएको छ । हरेक स्थानीय तहमा एउटा सुविधा सम्पन्न उत्कृष्टताको केन्द्र (सेन्टर अफ एक्सिलेन्स)को रुपमा कम्तिमा एउटा अगुवा विद्यालय स्थापना गर्ने उल्लेख गरिएको छ । विद्यालय शिक्षामा हाल उच्च रहेको विद्यालय छाड्ने दरलाई कम्तिमा २० प्रतिशतमा घटाइने काङ्ग्रेसको दाबी छ ।

यसैगरी काङ्ग्रेसले सुत्केरी महिलालाई पाँच हजार सुत्केरी सहायता भत्ता उपलब्ध गराउने, सबै महिलालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने प्रतिवद्धता जनाएको छ । ६० वर्षमाथिका नागरिक, गर्भवति महिला, दीर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका व्यक्तिलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने पनि घोषणापत्रमा उल्लेख छ ।

यस्तै तीन वर्षभित्र सबै विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम व्यवस्थित गर्ने भनिएको छ । काङ्ग्रेसले जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर, स्वागतद्वारजस्ता क्षेत्रमा लगानी नगर्ने र आफन्तलाई नियुक्ति नदिने प्रतिवद्धता जनाएको छ ।
हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ :