काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनका लागि आज आइतबार देशैभर उम्मेदवारी दर्ता भइरहेको छ । यो क्रम सोमबार पनि जारी रहनेछ । उम्मेदवारी दर्ताका लागि वडा सदस्यमा ५ सय, वडाध्यक्षमा १ हजार र अध्यक्ष–उपाध्यक्ष वा मेयर–उपमेयरमा १ हजार ५ सय रुपैयाँ धरौटी राख्नुपर्नेछ ।

निर्वाचन आयोगले यस्तो धरौटी महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट हुने जनाएको छ । उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगदी रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको मतदाता भएको प्रमाण देखाउनु पर्ने आयोगले जनाएको छ ।