काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनको उम्मेदवारी टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । बैठक अपरान्ह ३ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानको उम्मेदवारी दर्ता भोलि मात्रै गर्ने भएको बताइएको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठका अनुसार ‘केही ठाउँ बाहेक साझा उम्मेदवार तय भइ नसकेकाले भोलि मात्रै उम्मेदवारी दर्ता हुन्छ, आज अबेरसम्म गठबन्धनको बैठक बसेर टुङ्गिएपछि अधिकांश क्षेत्रको उम्मेदवारी दर्ता भोलि नै हुन्छ ।’ एस नेता श्रेष्ठ भन्नुहुन्छ, – सीमित जिल्लाहरुमा सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भएता पनि धेरै ठाउँमा कुरो मिल्न सकेको छैन । कतिपय जिल्लामा तालमेल हुने र कतिपयमा स्वस्थ प्रतिस्पर्धा हुने भन्ने कुरा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेपछि मात्रै थाहा हुन्छ ।

माओवादी केन्द्रका वरिष्ठ नेता देव गुरुङले पनि चुनावी तालमेलका विषयमा कुरा नमिलेको ठाउँमा वार्ता गरेर टुङ्ग्याउनुपर्ने भएकाले प्रायः सबै ठाउँमा भोलि नै उम्मेदवारी दर्ता हुने बताउनुभएको छ ।

सत्तारुढ नेपाली काङ्ग्रेसले अधिकांश महानगरको मेयर÷उपमेयर तथा उपमहानगरका मेयर÷उपमेयरको उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । काङ्ग्रेसका नेताहरुले शनिबार राति अबेरसम्म बसेको बैठकमा उम्मेदवार टुङ्गो लगाउने कसरत गरेता पनि कुरा मिल्न सकेन । सोही विषयमा निर्णय लिन नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

यसैगरी गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि आजै अपरान्ह बालुवाटारमा बस्ने गरी बोलाइएको छ । संयन्त्रले दिएको सुझावका आधारमा शीर्ष नेताहरुले उक्त बैठकमा विवादित ठाउँबारे निर्णय लिने बताइएको छ ।