फाइल तस्वीर
काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले गत महिना निर्वाचन सम्बन्धी कार्यतालिका प्रकाशित गरे अनुरुप आज र भोली गरी उम्मेदवारी मनोनयनको लागि दुई दिनको समय तोकेको हो ।


वैशाख ३० गते हुने देशभरका ७५३ वटा स्थानीय निकायको निर्वाचनको प्रक्रिया आजबाट विधिवत रुपमा प्रारम्भ गएको छ । निर्वाचन आयोगले आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ ।


निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार, मनोनयन दर्तापछि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन नहुँदासम्मको कार्यतालिका यस्तो छ–
मिति कार्यक्रम
२०७९ वैशाख ११ र १२ गते उम्मेद्वारहरुको मनोनयन
२०७९ वैशाख १२ गते (अपराह्न ) उम्मेद्वारहरुको नामावली प्रकाशन
२०७९ वैशाख १३ गते उम्मेद्वारमाथि उजुरी दर्ता
२०७९ वैशाख १४ र १५ गते उजुरीमाथि छानविन
२०७९ वैशाख १५ गते (अपराह्न) उम्मेद्वारको नामावली प्रकाशन
२०७९ वैशाख १६ गते उम्मेद्वारको नाम फिर्ता
२०७९ वैशाख १६ गते(अपराह्न) उम्मेद्वारको अन्तिम नामावली प्रकाशन
२०७९ वैशाख १७ गते निर्वाचन चिह्न प्रदान

विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेकोले आयोगको भनाइ छ । यसले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन उम्मेदवारको सूची प्रकाशन गर्न नसकिएको सन्दर्भमा दुई दिनको समय दिन उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको आयोगले स्पष्ट पारेको छ ।


वैशाख ३० गते देशका ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ वटा स्थानीय निकायमा निर्वाचन हुनेछ । यी सबै तहमा मेयर र उपमेयर, वडाध्यक्षदेखि वडासदस्यसम्मका पदहरुका लागि मनोनयन दर्ता गरिने छ । देशभर स्थानीय तहमा ६ हजार ७ सय ४३ वडाहरु छन् । हरेक वडाका लागि एकजना वडाध्यक्ष, दुईजना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यका लागि मनोनयन दर्ता हुनेछ । देशभरका स्थानीय तहमा निम्न पदमा मनोनयन हुनेछ ।
पालिका पद सङ्ख्या कूल सङ्ख्या
नगरपालिका मेयर २९३ २९३
उपमेयर २९३ २९३
गाउँपालिका अध्यक्ष ४६० ४६०
उपाध्यक्ष ४६० ४६०
वडा तह वडाध्यक्ष ६७४३ ६७४३
वडा सदस्य ६७४३×२ १३४८६
महिला सदस्य ६७४३ ६७४३
दलित महिला सदस्य ६७४३ ६७४३
निर्वाचित हुने कूल जनप्रतिनिधि सङ्ख्याः ३५२२१

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मापदण्ड तोकेको छ । उम्मेद्वार हुन नेपाली नागरिक हुनुपर्ने पहिलो शर्त छ । साथै २१ वर्ष पूरा भएको, आफ्नो क्षेत्रमा मतदाना नामावली भएको र कुनै कानूनले अयोग्य नभएको हुनुपर्नेछ । त्यसका साथै आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ मा भएको व्यवस्था अनुसार उम्मेद्वार बन्नका लागि अरु मापदण्डहरु पनि तोकेको छ ।

यसका साथसाथै पद अनुसार उम्मेद्वारहरुले फरक–फरक खालका कागजात पेश गर्नुपर्छ । प्रमुख तथा उपप्रमुखमा मनोनयन दर्ता गर्ने उम्मेद्वारहरुले ९ प्रकारका कागजात र वडाध्यक्ष तथा सदस्यहरुले ९ प्रकारका कारण पेश गर्नुपर्छ । दलित महिला सदस्यले १० प्रकारका कागजात बुझाउनुपर्छ । दलीय रुपमा उम्मेद्वारी दिने भए मनोनयनपत्र (टिकट) अनिवार्य गरिएको छ भने स्वतन्त्र उम्मेद्वारका लागि दलको पत्र आवश्यक पर्दैन ।