काठमाडौं – सत्ताघटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णरुपमा अन्त्य नभएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले उक्त धारणा व्यक्त गर्नुभएको हो । उहाँले प्रतिगामी एवं तानाशाही प्रवृत्ति, दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवादविरूद्ध सङ्घर्ष गर्दै प्राप्त उपलब्धिहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुने पनि बताउनुभएको छ ।

शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष सङ्घीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार गरेको वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा सङ्घर्षको कारण तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुगेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्मरण गर्नुभएको छ । ‘तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ ।

नेपालका कम्युनिस्ट पार्टीले ७३ वर्षको अन्तरालमा देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा पुगेको उल्लेख गर्दै प्रचण्डले यो सबै नेपालीहरूका लागि गौरवको कुरा भएको बताउनुभयो । प्रतिगमनविरूद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको पनि उहाँले बताउनुभयो । यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको जानकारी समेत उहाँले गराउनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताएर संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ताहरुलाई अपिल समेत गर्नुभएको छ ।