काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सञ्चालन हुँदैछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र रहेका छन् भने २ लाख ५७ हजार ५३ छात्रा रहेका छन् । बोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरूले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् ।

बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको छ । एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, सपरीक्षण र रुजुको कामसमेत गर्ने छन् ।