काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा काङ्ग्रेसले खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गर्नुभएको छ । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा अध्यक्ष ओलीले काङ्ग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गर्नुभएको हो ।
‘काङ्ग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भन्नुभयो, ‘काङ्ग्रेस अलच्छिन जति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन्, कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर काङ्ग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’ गठबन्धनसँगै काङ्ग्रेस पनि सकिने ओलीको दाबी छ ।

उहाँले स्थानीय तहमा एमालेको सङ्गठन मजबुत भएको बताउँदै स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने दाबी समेत गर्नुभएको छ । ओलीले भन्नुभयो, ‘२०७४ मा भएको निर्वाचनमा पनि हामी सरकारमा थिएनौं । तर, परिणाम राम्रो ल्याएका थियौं । अहिले हाम्रो अवस्था राम्रो छ ।’ उहाँले तराई–मधेशमा एमालेको पक्षमा लहर आएको दाबी गर्नुभयो । पहिलेभन्दा अहिले मधेशमा एमालेको स्थिति राम्रो भएको दाबी गर्दै भन्नुभयो, ‘मधेशमा अहिले एमालेको लहर आएको छ,’ ‘पहिलेकोभन्दा स्थिति अहिले धेरै राम्रो छ । एउटा प्रदेशमा नै एमालेलाई निषेध थियो । आज त्यो प्रदेशभर एमाले मजबुत छ ।’

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई निर्देशन दिनुभयो । प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी गर्दै उहाँले त्यसको विरोध नगर्न भन्नुभएको हो । ‘यदाकदा प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नुभएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर भुलचुकले नबोल्नु होला, प्रतिनिधिसभा विघटन सही थियो र नै आज हामी यहाँ छौं ।’ एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको उहाँको दाबी थियो ।