मकवानपुर – बागमती प्रदेशसभाका सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिनुभएको छ । एमालेले उहाँलाई भरतपुर महानगरको मेयरमा उठाउने तयारी गरेको छ । सोहीकारण महानगरको मेयरमा उठ्नका लागि उहाँले राजीनामा दिनुभएको हो ।

सुवेदीले आज बिहीबार बागमतीका सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । यही ३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि ११ र १२ वैशाखमा मनोनयन दर्ताको समय तोकिएको छ ।

निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवार हुन बाहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने बताएको छ । पाँच दलीय गठबन्धनका तर्फबाट भने भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको छ । माओवादी केन्द्रले बाहालवाला मेयर रेणु दाहाललाई नै उम्मेदवार बनाउने लगभग पक्कापक्की भइसकेको छ ।