काठमाडौं – आज बसेको सत्ता गठबन्धनको बैठकले उपमहानगरपालिकाको भागवण्डा टुङ्गो लगाएको छ । सहमतिअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका काङ्ग्रेसको भागमा परेको छ । नेपालगञ्जमा मेयर काङ्ग्रेसले पाएको छ ।

यसअघि नै नेपालगञ्ज काङ्ग्रेसले पाउने भनिएता पनि जसपाले दाबी गरेपछि सहमति जुट्न सकेको थिएन । आज बुधबार बसेको गठबन्धनको बैठकले सहमति जुटाएको हो । नेपालगञ्जमा अघिल्लो चुनावमा मेयरमा राप्रपाका धवलशमशेर राणा विजयी भएकाले थिए भने उपमेयरमा काङ्ग्रेसकी उमा थापामगरले जितेकी थिइन् ।

काङ्ग्रेसका उम्मेदवार सुरेश कनौडियाले ८ हजार ७३० ल्याएका थिए भने माओवादी केन्द्रले ७ हजार १९८ मत ल्याएको थियो । राप्रपाका धवल शमशेर राणा १२ हजार ५५ मत ल्याएर विजयी भएका थिए । गठबन्धनमा रहेका काङ्ग्रेस र माओवादीको मतमात्रै १५ हजार ९ सयभन्दा बढी हुने देखिन्छ । त्यसमा जसपाको मत थपिँदा एमालेलाई झन् मुस्किल पर्ने देखिन्छ । एमालेले पशुपति दायल मिश्रलाई उम्मेदवार बनाइसकेको छ । काङ्ग्रेसले उम्मेदवार भने चयन गरिसकेको छैन ।