सिन्धुली – सिन्धुलीको पिपलभञ्ज्याङमा प्रहरी र स्थानीयबीच झडप हुँदा ११ जना प्रहरी घाइते भएका छन् । सिन्धुली अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनालाई गम्भीर चोट लागेको छ । बोलेरोको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध पारेका थिए । उक्त अवरोध खुलाउने क्रममा सिन्धुलीको कमलामाई नगरपालिका– २ पिपलभञ्ज्याङमा झडप भएको हो ।

बीपी राजमार्ग हुँदै पिपलभञ्ज्याङ–पचभैया जाने सडकमा प्रदेश ३–०१–०२४ च १४१९ नम्बरको बोलेरोले ३९ वर्षीय पैदल यात्री विजय मोक्तानलाई ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका मोक्तानको उपचारका क्रममा मृत्यु भएको थियो । मोक्तानको मृत्यु भएपछि स्थानीयले बुधबार बिहानदेखि बीपी राजमार्गको सिन्धुली खुर्कोट खण्डको पिपलभञ्ज्याङमा सडक अवरुद्ध पारेका थिए । प्रहरीले अवरोध खुलाउन खोजेपछि उक्त झडप भएको हो ।

झडपका क्रममा स्थानीयले हानेको बोतल र ढुङ्गाले लागेर ११ जना प्रहरी घाइते भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै झडपका क्रममा रोकिराखेका केही सवारीसाधनमा समेत क्षति पुगेको बताइएको छ । प्रहरीले सडक खुलाएको छ भने पैदल यात्रीलाई ठक्कर दिने बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।