नेपालगञ्ज – महानगरपालिका र उप–महानगरपालिकाको नेतृत्व भागवण्डा टुङ्ग्याएको सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वको विवाद मिलाउन नसक्दा बैठक लम्बिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्जको नेतृत्व नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीले दावी गरेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

मङ्गलबार राति ९ वटा उपमहानगरपालिकाको नेतृत्वको भागवण्डा टुङ्ग्याएको सत्तारुढ गठबन्धनमा जनकपुर र नेपालगञ्जमा भने विवाद थियो । बुधबार जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीले लिने सहमति भएको बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले बताए । तर नेपालगञ्जमा भने काङ्ग्रेस र जसपा दुवैले दाबी छाडेका छैनन् ।

गठबन्धनबीच स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सहमति भएको छ । त्यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व लिने सहमति भइसकेको छ । उप–महानगरपालिकातर्फ नेपाली काङ्ग्रेसले धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल र धनगढीको नेतृत्व लिने सहमति भइसकेको छ । त्यस्तै माओवादी केन्द्रले जितपुर–सिमरा र घोराही, एकीकृत समाजवादीले हेटौंडा उप–महानगरपालिकाको नेतृत्व लिने सहमति पनि भइसकेको नेताहरुले बताएका छन् ।