काठमाडौं – पुनर्निर्माणपछि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार गत चैत २९ मा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी गए राति १० बजे सुन्दरीजलमा झरेको हो ।

अब पाँच दिनपछि काठमाडौंवासीको घरको धाराधारामा पानी आइपुग्ने बताइएको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने उल्लेख गरिएको छ । गतवर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहोर पखालेर अहिले बागमतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि बागमतीको बहाव केही बढेको छ ।

मेलम्चीको पानी सुन्दरीजल आएसँगै आज खानेपानीमन्त्री उमाकान्त चौधरीले अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयो । चौधरीले सोमबार काठमाडौंमा गरिएको कार्यक्रममा आगामी आइतबारसम्म काठमाडौंवासीको धारामा मेलम्चीको पानी आउने बताउनुभएको थियो ।