मोरङ – विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा गए राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएका छन् । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको हो ।

उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिएका छन् । आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताएका छन् । आगो नियन्त्रणका क्रममा कार्यालयका तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको छ । रासस