काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक आज बिहान ११ बजेपछि बस्ने तय भएको छ । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उप–महानगरपालिकाको चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्ने भएको हो ।

आइतबार र सोमबार बसेको बैठकले महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँडमा सहमति जुटाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । काङ्ग्रेसले काठमाडौं, ललितपुर विराटनगर र पोखरामा पनि दाबी गरेको छ । तर, एकीकृत समाजवादीले पोखरामा दाबी गरिरहेको छ ।

माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिब करिब सहमति जुटिसकेको बुझिएको छ । सरकारका प्रवक्तासमेत रहेका काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आज महानगर र उपमहानगरको नेतृत्व बाँडफाँडमा सहमति जुट्ने बताउनुभयो ।