फाइल तस्वीर
काठमाडौं – पाँच दलीय सत्तागठबन्धन दलको बैठक आज मङ्गलबार पनि बस्दैछ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरुले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा गरी साझा उम्मेदवार उठाउन छलफल गरिरहेका छन् । उम्मेदवारको मनोनयन दर्ता गर्न पाँच दिनमात्रै बाँकी हुँदा पनि गठबन्धन दलहरुबीच भागबण्डाको टुङ्गो लगाउन ठूलो सकस भएको छ ।

गठबन्धनका पाँचैदल नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन हिजो सोमबार दिनभरको प्रयास असफल भएको थियो । सहमति जुटाउनकै लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान साढे ११ बजेका लागि तय भएको छ ।

नेपाली काङ्ग्रेसले ६ वटै महानगरपालिकाको मेयरमा दावी नछाडेपछि हिजोको बैठक असफल भएको थियो । छ वटा महानगरपालिका मध्ये चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले दावी गर्दै आएको छ भने भने कास्कीको पोखरा महानगरपालिकामा एकीकृत समाजवादी र वीरगञ्ज महानगरपाकिलामा जनता समाजवादीले दावी गर्दै आएको छ ।

नेपाली काङ्ग्रेसका नेता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो साँझ सञ्चारकर्मीहरुलाई बताए अनुसार धेरै ठाउँमा सहमति नजिक पुगेको छ । निर्वाचनमा गठबन्धन गरेर मिलेर जानुपर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत रहेको मन्त्री कार्की बताएका छन् । सत्तागठबन्धनले चुनावी तालमेल गरेर उममेदवार उठाउने सहमति गरेका छन् । कुरा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरमा अड्किएको छ ।