काठमाडौं – राष्ट्रिय युवा परिषद्ले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषद्ले जनाएको छ । स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन छानिएका म्यादी प्रहरी ४० दिनपछि बिदा हुनेछन् ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत भन्नुहुन्छ, – निर्वाचन सकिए लगत्तै बेरोजगार बन्न जाने युवा म्यादी प्रहरीलाई आफ्नै देशभित्र स्वरोजगार बन्न प्रेरित गर्न हामीले उद्यमशीलता तालिम दिएका हौं । परिषद्ले भक्तपुर र धादिङका गरी १ हजार २ सय ५० जना म्यादी प्रहरीलाई सहुलियतपूर्ण कर्जा सहजीकरण, वित्तीय साक्षरता र उद्यम तालिम दिएको जनाएको छ ।

तालिमको दौरानमा नेपाल सरकारद्वारा जारी गरिएको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि –२०७५’ मा केन्द्रित रहेर तालिम दिइएको परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताउनुभयो । उहाँले तालिमबाट स्वदेशमै रोजगार बन्न म्यादी प्रहरीका सहभागीहरू निकै उत्साहित भएको बताउनुभयो ।

अहिलेसम्म भक्तपुरमा अलग–अलग समुह बनाएर ५ सय ५० जना म्यादी प्रहरीलाई उद्यम तालिम दिइएको छ । तालिम कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माको समेत उपस्थिति रहेको थियो । यस्तै धादिङमा विभिन्न समुह बनाएर ७ सय जना म्यादी प्रहरीलाई तालिम दिइएको परिषद्का तालिम शाखा प्रमुख दिनेश घिमिरेले जानकारी दिनुभयो ।