काठमाडौं – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलहरु मिलेर महानगर र उपमहानगरमा साझा उम्मेदवार उठाउने दावी गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले उक्त धारणा सार्वजनिक गर्नुभएको हो ।

सत्ता गठबन्धन दलहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भागबण्डाका आधारमा साझा उम्मेदवारका लागि बैठक बसेको थियो । तीन घण्टासम्म चलेको बैठकबाट कुनै पनि निष्कर्ष निस्कन सकेको छैन । यसैबीच अध्यक्ष प्रचण्डले देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावी तालमेल गरेर साझा उम्मेदवारको टुङ्गो लगाउने दावी समेत गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डले ‘हामी बेलुकासम्म देशका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । हामी सहमतिको नजिक पुगेका छौं’ भन्दै अध्यक्ष प्रचण्डले पत्रकारहरु समक्ष ‘मलाई विश्वास छ । हामीले बेलुकासम्म महानगर र उपमहानगर गठबन्धनभित्र तालमेल बारे एउटा निष्कर्षमा पुग्छौ’ भन्नुभयो ।

अध्यक्ष प्रचण्डले बताउनु भएअनुसार नगरपालिका र गाउँपालिकाको विषयमा भोलि बेलुकासम्म निष्कर्षमा पुग्ने छ । ‘नगरपालिका र गाउँपालिका सबैको अधिकार प्रत्यायोजन गरेर जिल्लामा दिएकै छांै । आज साँझसम्म तलको रिर्पोट केन्द्रीत गर्ने भनिएको छ । हामीले सकेसम्म भोलिसम्म निष्कर्षमा पुग्ने कोसिस गछौं’ – अध्यक्ष प्रचण्डले भन्नुभयो ।

निर्वाचन सर्ने बारेमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन हुने जिकिर समेत गर्नुभयो । निर्वाचन सर्ने कुरा मिडियामा अनुमानको भरमा आएको उहाँको भनाइ थियो ।