फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आज सोमबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पक्रकार सम्मेलन गर्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजै बिहान ९ बजे भएको सत्तासाझेदार पाँच दलबीच भएको छलफलका बारेमा समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी गराउने बताइएको छ । पत्रकार सम्मेलन दिउँसो १ बजे पेरिसडाँडामा हुँदैछ ।

अध्यक्ष प्रचण्डले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र पार्टीको धारणाबारे जानकारी गराउनु हुने बताइएको छ । सत्ता गठबन्धनमा अहिले चुनावी तालमेललाई लिएर विवाद बढिरहेको छ । मुख्यतया ६ वटा महानगरपालिकाको मेयर र ११ वटा उपनगरपालिकाको उपमेयरका विषयमा दलहरुबीच आआफ्नै अडान रहँदै आएको छ । नेपाली काङ्ग्रेसले सबै महानगर र उपमहानगरपालिकामा आफ्नो दावी पेश गर्दै आएको छ ।

मुख्यत भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकामा क्रमशः माओवादी केन्द्र र एकीकृत समाजवादीले दावी गर्दै आएका छन् । नेपाली काङ्ग्रेसको चितवन जिल्ला समितिले यसपटक कुनैपनि हालतमा माओवादी केन्द्रलाई मेयरपद नदिने अडान राख्दै आएको छ ।