फाइल तस्वीर
काठमाडौं – पाँच दलीय सत्तागठबन्धको बैठक आज सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको मेयर र उपमेयरको साथै वडा र पालिकाहरुमा तालमेल गरेर जाने विषयमा आज टुङ्गो लगाउन बैठक बस्न लागेको हो ।

महानगर र उपमहानगरमा भागबण्डाको टुङ्गो लगाएर चुनावी अभियानमा लाग्न गठबन्धन दलहरु बैठकमा केन्द्रीत हुने छन् । केन्द्रले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरुले साझा उम्मेदवार बनाउन भने पनि जिल्लास्तरमा केन्द्रको निर्णयलाई अस्वीकार गर्ने पनि देखिएको छ । विशेष गरी नेपाली काङ्ग्रेसको जिल्ला पार्टीहरुले स्थानीय निर्वाचनमा गठबन्धनको विपक्षमा देखिएका छन् ।

एमाले पार्टी विभाजन भएपछि प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई काङ्ग्रेसले कमजोर आङ्कलन गरेको छ । तर यथार्थत नेपाली काङ्ग्रेसको यो विश्लेषण गलत सावित हुने देखिन्छ । नेकपा एकीकृत समाजवादीले पार्टी सङ्गठनलाई मजबुद बनाउँदै लगेको छ । एमालेमै रहेको असन्तुष्ट पक्षले पनि एकीकृत समाजवादीलाई स्थानीय निर्वाचनमा मत दिन सक्ने अवस्था देखिएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीमात्रै गठबन्धन गरेर जाँदा पनि काङ्ग्रेसलाई चुनाव जित्न त्यति सजिलो देखिंदैन ।

नेपाली काङग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उप–महानगरपालिमा आआफ्नै अडान कायम राखेका छन् । नेपाली काङ्ग्रेसले ६ वटा महानगरपालिका मध्ये काठमाडौं, ललितपुर, पोखरा र भरतपुरलगायतका ४ वटामा दावी गर्दै आएको छ । नेकपा माओवादी केन्द्रले एकमात्र भरतपुर महानगरपालिका र हेटौडा, धरानलगायतका उपमहानगरपालिकामा दावी गरेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले पोखरा महानगरका साथै हेटौंडा उपमहानगरपालिकाको साथै हिजो एमालेले जितेको स्थानमा दावी गर्दै आएको छ । यसैगरी गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टीले दुई महानगर र तीन उपमहानगरपालिका दाबी गरेको छ । गठबन्धन दलहरुलाई महानगर र उपमहानगरपालिकामा भागबण्डा गर्न ठूलो सकस भएको छ । गठबन्धन दलहरुबीचको लफडाले एमालेलाई थप बल पुग्ने देखिएको छ ।

स्थानीय तहको निर्वाचन हुने मिति २५ दिनमात्र बाँकी छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गतेको मिति तोकेको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगर र उपमहानगरपालिमा पनि सिटको भागवण्डा पनि मिलाउन सकेको छैन । नगरपालिका र गाउँपालिकाको विषयमा गठबन्धनदलहरुलाई मिल्न पनि समस्या नै देखिउको छ । अहिलेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारका आकाङक्षीहरु धेरै देखिएका छन् । पार्टी भित्रैबाट पनि विद्रोही उम्मेदवार बन्नसक्ने अवस्था देखिएको छ ।