फाइल तस्वीर
काठमाडौं – सत्तारुढ घटक पाँच दलीय गठबन्धनको आज बसेको बैठकले आसन्न निर्वाचनका लागि भोलिसम्ममा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डाको टुङ्गो लगाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले भोलि सोमबारसम्ममा टुङ्गो लगाउने निर्णय गरेको हो ।

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे छलफल गर्दै महानगर र उपमहानगरमा केन्द्रबाटै टुङ्गो लगाउने भएको छ । बाँकी पालिकाका लागि मापदण्ड तयार गरेर जिल्लाले मिलाउन सक्ने यस अघि नै छलफल भएको थियो ।

केन्द्रबाट ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको टुङ्गो लगाउने भनेपनि गठबन्धनका मुख्य दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच सहमति जुट्न सकेकोे छैन । त्यस्तै गठबन्धनले सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे सोमबार नै कार्यदलको रिपोर्ट लिने निर्णय बताइएको छ ।

वैशाख ३० गते मतदानका लागि आयोगले वैशाख ११ र १२ गते मनोनयनको मिति निर्धारण गरे पनि गठबन्धनमा आबद्ध दललाई भागवण्डा मिलाउन सकस परेको छ । विशेष गरी चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका नै विवादको विषय बनेको छ । भरतपुर महानगरपालिकामा माओवादी र पोखरामा एकीकृत समाजवादीले दावी मेयरमा आफ्नो दावी गर्दै आएका छन् ।