फाइल तस्वीर
ललितपुर– आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) ले पार्टी भित्र छलफललाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज शुक्रबार बिहान पार्टीका पूर्वस्थायी समितिका सदस्य र प्रदेश इञ्चार्जहरूसँग छलफल गर्नुभएको छ ।


अध्यक्ष दाहालले आज बिहान आफ्नै निवास खुमलटार बोलाएर स्थानीय निर्वाचन तयारीको अवस्था र आगामी रणनीतिबारे काठमाडौंमा उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इञ्चार्जहरूसित छलफल गर्नुभएको हो । आजै बिहान ८ देखि १० बजेसम्म अध्यक्ष दाहालले पार्टी केन्द्रीय कार्यालयको बिस्तारित बैठक राखेर नेताहरूको धारणा सुन्नु भएको थियो ।

माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले बताउनु भएअनुसार बैठकमा चुनावी तालमेल र सहकार्यलगायत समसामयिक विषयमा छलफल भएको थियो । नेता पोखरेलका अनुसार सहकार्यको क्रममा आउने सम्भावित जटिलताको विषय पनि छलफल भएको थियो । तालमेलको नीति बनाउन समस्या होइन, बनाएको नीति कार्यान्वयनमा जाँदा जटिलता र अन्तरविरोधहरू देखिन्छन्, त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।’ नेता पोखरेलले भन्नुभयो ।

गठबन्धन बनेको बेलामा सबै दल र उम्मेदवारलाई जितिन्छ भन्ने लाग्ने र त्यसैअनुसार दाबी गर्दा पैदा हुने अन्तरविरोध हल गर्नुपर्ने सुझाव पूर्वस्थायी समिति सदस्यहरूले राखेका थिए । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले १०६ वटा पालिकाको प्रमुखमा जितेको थियो ।

गठबन्धन कायम राख्दा ती पालिका प्रमुख कायम रहने र बाँकी सिटमा एमालेले जितेकोमा भागबण्डा गर्ने सहमति जुटेको छ । त्यसरी भागबण्डा गर्दा माओवादी केन्द्रका सम्भावित पालिकाहरू कुन–कुन हुन सक्छन् र त्यसमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि माओवादीले छलफल चलाइरहेको छ ।