फाइल तस्वीर
काठमाडौं – आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ । ललितपुरको सानेपास्थित काङ्ग्रेस केन्द्रीय कार्यालय आज शुक्रबार १ बजेका लागि निर्वाचन परिचालन समितिको बैठक बोलाइएको हो ।

उक्त बैठकमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायतका विषयहरुमा छलफल हुने बताइएको छ ।

नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन वैशाख ३ गते शनिबार सहमहामन्त्रीहरूलाई सातै प्रदेशमा पठाउने निर्णय गरेको थियो । सोही अनुरुप भोलि सहमहामन्त्रीहरुले प्रदेशमा पुगेर उम्मेदवारको टुङ्गो लगाउने भएका छन् ।

यदी प्रदेशबाट उम्मेदवारहरुको टुङ्गो लगाउन नसकेमा उनीहरूले वैशाख ९ गते शुक्रबार साँझसम्म केन्द्रमा पठाउने र वैशाख १० गते शनिबार बिहानसम्म केन्द्रले उम्मेदवारको टुङ्गो लगाउनेछ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले वैशाख ११ गते मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।