विराटनगर – भोजपुरको रामप्रसाद राई गाँउपालिकामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित प्रदेश नं.१ प्रहरी कार्यालयका अनुसार प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्रयाक्टर दुर्घटनामा परी स्थानीय जेबी राईको मृत्यु भएको हो ।

भोजपुरबाट इटा बोकेर बासीखोरातर्फ जाने क्रममा गाँउपालिका ५ स्थित भोजपुर मानेभन्ज्याङ सडकखण्डमा मंगलबार राति ट्रयाक्टर दुर्घटना भएकोे विराटनगरस्थित प्रदेश नं.१ प्रहरी कार्यालयले जनाएको छ । रातिको समय अनियन्त्रित हुँदै ट्रयाक्टर सडकखण्डबाट करिब दुई सय मिटर तल भीरमा खस्दा २० वर्षीय राई गम्भीर घाइते भएका थिए ।

ईलाका प्रहरी कार्यालय घोडेटार भोजपुरका अनुसार राईको जिल्ला अस्पताल भोजपुरमा उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय घोडेटारले घटनाबारे अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।