फाइल तस्वीर
काठमाडौं – निर्वाचन आयोगले एक पदमा उम्मेदवारी दिने पार्टीले महिलालाई नै अघि सार्नुपर्ने प्रावधान सच्याएको छ । आयोगले स्थानीय तहको प्रमुख वा उपप्रमुख, गाउँपालिको अध्यक्ष वा उपाध्यक्षमध्ये एक मात्रै पदमा दलले उम्मेदवारी दिनुपर्दा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको हो ।

आयोगले दलहरुलाई अघिल्लो हप्ता एक पत्र पठाउँदै एक मात्रै पदमा उम्मेदवारी दिँदा महिला हुनुपर्ने निर्देशन गरेको थियो । स्थानीय तह निर्वाचन ऐनले दुई मध्ये एक पदमा उम्मेद्वारी दिँदा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

आयोगले त्यसलाई थप कडाइ गर्दै एक मात्रै उम्मेदवार हुँदा महिला हुनुपर्ने निर्देशन गरे पनि दलहरुको विरोधपछि सच्याएको हो । विशेष गरी गठबन्धन गरेर चुनावमा जाने तयारीमा रहेका दलहरुलाई असर पर्ने भएपछि उनीहरुले उक्त व्यवस्था कानुन विपरीत रहेको भन्दै आपत्ति प्रकट गर्दै आएका थिए ।

आयोगले दलहरुलाई पठाएको निर्देशन पत्रको बुँदा नम्बर ६ मा ‘स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने’ उल्लेख गरिएको थियो । आयोगले यसलाई मङ्गलबार विज्ञप्ति जारी गरेर सच्याइएको जनाएको छ ।