काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्ट्याउन चाहनेहरु रहेको दाबी गर्नुभएको छ । आज मङ्गलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले उक्त कुरा बताउनुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभूत गर्ने गरी विकासले तीव्र गति लिने र फड्को कसरी मार्ने भन्ने महत्वका साथ उठ्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले अहिलेको २१ औँ शताब्दीको विश्व ग्लोबलाइज, डिजिटलाइज भएको भन्दै यसको प्रभावले हाम्रो विकास मोडेलमा पारेको नकारात्क र सकारात्मक प्रभावलाई गम्भीरताका साथ अध्ययन गरेर मौलिक किसिमको तरिकाबाट देशको विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बढ्दो शहरीकरण र त्यसबाट पैदा भएका विभिन्न समस्यालाई समाधान गरेर शहर व्यवस्थापनमा ध्यान दिनु अबको आवश्यकता भएको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘एउटा प्रवृति छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको यो संविधानलाई त्यति रुचीकर ठान्दैन । त्यो प्रवृति अहिले पनि तपाईं हामीले देखिरहेका छौँ । कुनै न कुनै रुपले यसलाई विघटन गर्ने, वा यसबाट अर्को दिशातर्फ लाद्ने कसरतहरु भइरहेका छन् । यस्तो परिस्थितिमा हामीले संविधान तथा परिवर्तन र आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभूत गर्ने गरी विकासमा हामीले गति कसरी लिने, फड्को कसरी मार्ने भन्ने कुरा असाध्यै महत्वपूर्ण छ नेपालको लागि ।’

अध्यक्ष दाहालले विकास निर्माणका लागि आवश्यक ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने पनि उल्लेख गर्नुभयो ।