काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताउनुभएको छ । आज शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

उहाँले काठमाडौंका खाली ठाउँ भूमाफियाहरुले आफ्नो नाममा लिने काम गरिरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्यास निकालेर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहको टिप्पणी समेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिले काठमाडौंमा जुन किसिमको फोहोर नै फोहोर छ । व्यवस्थापन भएको छैन । फोहोर थुप्रिएको छ । फोहोर व्यवस्थापन गर्न जरुरी छ । ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ । मैले आफैले देखेर आएको छु धरानमा । फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ । विदेशी राजदूतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन् । अर्को कुरा भूमाफियाहरुले जथाभावि ठाउँ–ठाउँमा जग्गा हडप्दै गएका छन् । जसले पनि आफ्नो नाममा गरेका छन् । यसमा पनि ध्यान दिनुपर्नेछ । नत्र भोलि काठमाडौंका कुनै ठाउँ बाँकी हुने छैनन् । ’

प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।